काठमाडौं । सर्लाहीमा वन संरक्षक ४७ वर्षीय रामेश्वर महतोको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका वडा नं २ राइटरखोरकै रामवली महतो रहेका छन्।
उनले लगाएको कपडामा रगत लागेको पुष्टि भएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले वन हेरालु (चौकीदार) हत्या आरोपमा प्रहरीले रामवलीलाई हिरासत लिएर अनुसन्धान गरिरहेको पुष्टि गरेका छन्। रगत लतपतिएको कपडासहित नियन्त्रणमा लिएकोले घटनामा उनको संलग्नताको आशंकालाई बलियो बनाएको उनको भनाई छ। घटनाको अनुसन्धान द्रूत गतिमा भइरहेको बताउँदै उनले प्रहरी अपराधीको नजिक पुगिसकेको जानकारी दिए।
रूख कटान गरिरहेको थाहा पाएर रोक्न गएका रामेश्वरको शनिबार शरीर एकातिर टाउको अर्कोतिर हुने गरि बञ्चरोले हानेर हत्या गरिएका अवस्थामा शव भेटिएको थियो। शव घरदेखि करिब ५०० मिटरको दुरीमा पर्ने सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रकै झाडीमा भेटिएको थियो। घटनास्थलदेखि १ सय मिटर उत्तर तर्फ झाडीमा २० पुस आइतबार दिउँसो १२ः ४५ मा टाउको भेटिएको प्रहरीले जानकारी दिएको छ ।
