काठमाडौं । यस सूचीमा नेपाली नागरिक विपिन जोशीको तस्वीर पनि समावेश गरेर हमासले उनको जीवन पनि गाजामा जारी युद्धका कारण जोखिममा रहेको सन्देश दिन खोजेको छ।यसले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई पनि उनको अवस्थाबारे चिन्ता व्यक्त गर्न र हमास तथा इजरायल दुवैमाथि दबाब बढाउन प्रेरित गर्न सक्छ।
लामो समयदेखि विपिनको अवस्था सार्वजनिक गर्न नेपालले बढाइरहेको दबाबले भने अझै काम गर्न सकेको छैन ।गाजामा इजरायलले सैन्य कारबाही आक्रामक बनाइरहेको बेला हमासको यो कदमले विपिनको जीवन थप जोखिममा परेको छ ।हमासले बन्दीहरूलाई गाजाको विभिन्न भागमा छिरलेर राखेको बताउँदै आएको छ ।
इजरायली सेनाले शनिबार पनि गाजा सिटीमा शक्तिशाली हमलाहरूलाई निरन्तरता दिएको छ । उक्त हमलामा परी एकैदिन कम्तीमा ९१ जनाको ज्यान गएको हमास सञ्चालित अस्पतालले जनाएको छ ।
अल जजिराका अनुसार, इजरायली सेनाले गत दुई सातामा गाजा सिटी क्षेत्रका करिब २० वटा टावर ब्लक भत्काएको अनुमान गरिएको छ।गाजा सिभिल डिफेन्सका अनुसार करिब ४।५ लाख मानिस, अर्थात् शहरी केन्द्रको करिब आधा जनसंख्या यसबीचमा त्यहाँबाट पलायन भइसकेका छन् ।शनिबार संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि इजरायलको धम्कीबाट विश्व समुदायलाई नआत्तिन आग्रह गरेका छन् ।
