काठमाडौं । गत भदौ २५ गतेको जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको पुष्टि भएको छ । गैंडाकोट नगरपालिका १ इँटाभट्टा नजिकै कात्तिक ६ गते राति कालिका नगरपालिका– ४ पदमपुर स्थायी घर भएका २८ वर्षिय नारायण कुमालको स्थानीय युवाहरूले धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए ।
जर्बजस्ती करणीको कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो ।२०७४ साउन ३ मा पक्राउ परेका उनी २०८४ मा छुट्ने क्रममा रहेको प्रहरीले जनाएको छ । कारागारबाट भागेका कुमाललाई पटकपटक कारागार आउन खबर गरे पनि उनी भागेर बसेका थिए ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मधु नेपालका अनुसार, प्रहरीले हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका एक प्रत्यक्षदर्शीका अनुसार, करिब १४–१५ जनाको संख्यामा आएका युवाहरूको समूहले कुमाललाई घाँटी र हातमा धारिलो हतियार प्रहार गरेका थिए ।
