काठमाडौं । मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ। उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसर, कोरलानाका र मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासहित हिमपात भएको छ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ। उक्त सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूलाई यस्तो आग्रह गरिएको हो।
जोमसोम–मुक्तिनाथ सडकखण्डअन्तर्गत कागबेनीदेखी साँघुरो र घुम्ती मोड भएको कालोपत्र सडकमा बाक्लो हिउँ जमेका कारण सवारीसाधन लिएर मुक्तिनाथको यात्रा नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। कागबेनी–मुक्तिनाथ सडकखण्डको कालोभिर, खिङ्गा, झारकोटलगायत स्थानका सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन नलैजान यात्रा वर्गलाई अनुरोध गरिएको छ ।
