काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को मुख्य सत्रलाई सम्बोधन गर्दैछन् । सोमबार कतार पुगेका पौडेलले दोहामा आयोजित सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।
मंगलबारदेखि सुरु भएको सम्मेलन बिहीबारसम्म चल्नेछ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल सोमबार कतार पुगेका हुन् । संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ।
सम्मेलनलाई सम्बोधन गरेपछि राष्ट्रपति पौडेलले कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिको भेटवार्ता गर्नेछन् ।
यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो। यसपटक कतारले सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ। सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्ने जनाइएको छ।
