काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा ५ दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव आज फेला परेको छ । पाङबारी पिक हिमाल आरोहण गर्ने क्रममा कात्तिक १२ गतेदेखि बेपत्ता भएका दुई इटालियन नागरिकको शव भेटिएको हो। ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले बताए ।उनका अनुसार आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ ।पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए ।
उनीहरूसँगै अलपत्र परेका इटालियन नागरिक ६४ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।उनको साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौं पठाइएको उनले बताए ।
