काठमाडौं । काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार धर्म स्कन्ध (बुद्धको उपदेश–देशना), ८४ व्यञ्जन, ८४ हजार फूल र ८४ अष्ट परिस्कार अथात् भिक्षुले अपनाउने व्यवहारले कूल पूजा गरिएको छ । आज मानव जीवनको सुख, शान्तिको लागि कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर, धर्मचक्र बनाएर कूल पूजा गरिएको नमुना बुद्ध विहारले जनाएको छ ।
विहारका अनुसार यो पूजा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिन विगत ६ वर्षदेखि निरन्तर गर्दै आइएको छ । आज पनि भगवान बुद्धले देशना गर्नु भएको ८४ हजार धर्म स्कन्ध, ८४ व्यञ्जन, ८४ हजार फूल र ८४ अष्ट परिस्कारसहित पूजा गरिएको हो । स्वयम्भूमा बुद्धको देशनामा आमारित कथा वाचन समेत भएको र बुद्ध धर्ममा आस्था राख्ने उपासक र उपासिकाहरूको सहभागिता थियो।
आजकै दिन सिद्धार्थ गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थवीरले महापरिनिर्वाण प्राप्त गरेका थिए। भौतिक संसारबाट बिदा हुनुलाई बौद्धमार्गीहरुले महापरिनिर्वाणको रुपमा बुझ्छन् । बुद्ध धर्म र दर्शनलाई संसारभर प्रचार गर्ने क्षेत्रमा योगदान दिएका सारिपुत्रको स्मरणमा विभिन्न कार्यक्रम हुने गर्दछ।
