काठमाडौं । नेपालमा केटीएम ३९० एन्ड्युरो आर मोटरसाइकलको बुकिङ खुला गरेको छ । नेपालका लागि केटीएमको आधिकारिक बिक्रेता हशंराज हुलासचन्द एण्ड कम्पनीले नाइमा अटोशो २०२५ मा पहिलो पटक नेपालमा सार्वजनिक गरेको नयाँ एड्भेन्चर ३९० एन्ड्युरो आर मोटरसाइकलको आधिकारिक रूपमा बुकिङ खुलाएको हो ।
कम्पनीले केटीएम ३९० एन्ड्युरो आर मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ खुलाएको हो । उक्त मोटरसाइकल नेपाली बजारमा उपलब्ध भएसँगै कम्पनीले एकैसाथ बुकिङ र टेस्ट राइड सुरू गरिएको कम्पनीले जनाएको छ ।
इच्छुक ग्राहकले नेपालभर रहेका केटीएमको आधिकारिक शोरुमबाट टेस्ट राइड गरी ३९० इन्ड्युरो आर बुकिङ गर्न सक्ने छन् । केटीएम ३९० इन्ड्युरो आर डबल स्पोर्ट मोटरसाइकल हो । यो टिपिकल एन्ड्युरो एड्भेन्चर डिजाइनमा तयार भएको छ । यसमा ३९९ सीसीको सिंगल सिलिण्डर फोर स्ट्रोक, एफआइ इन्जिन छ । यसले अधिकतम ४६ पीएस पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीडको गियरबक्सका साथै क्वीक सिफ्टर र स्लिपर क्लच रहेको छ ।
