काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संविधान र ऐन–कानुनको परिधिमा रहेर विश्लेषण गर्ने बताएका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरूसँग शुक्रबार बिहान आयोगमा भएको छलफलमा उनले उक्त कुरा बताएका हुन्।
सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक पार्टी भएको जिकिर गर्दै उनीहरू आयोगका पदाधिकारीसँग छलफल गर्न गएका थिए। छलफल क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने,निर्वाचन आयोगले संविधान, ऐन–कानुनको परिधिमा रहेर विश्लेषण गर्छ। विधि र पद्दतिबाहिर गएर आयोगले निर्णय गर्दैन।
उनले निर्वाचन कार्यतालिका अनुसारका काममा सहभागी हुन आग्रह पनि गरे।निर्वाचन आयोगमा कार्यवाहक सभापति खड्का, नेता शेखर कोइराला, उपसभापति धनराज गुरूङ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, नेताहरू मिनेन्द्र रिजाल, रमेश लेखक, नैनसिंह महर, जितजंग बस्नेतलगायत पुगेका थिए।
