काठमाडौं । सबैले आशा बोकेका र काम गरेर आफूलाई प्रमाणित गरिसकेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक एवम् समुन्नत नेपाल पार्टीका सभापति सर्वेन्द्र खनाल बारा क्षेत्र नं. ४ बाट निर्वाचन लड्ने निर्णयसँगै यहाँको राजनीतिक र सामाजिक माहोल नयाँ उत्साहले भरिएको छ। वर्षौंदेखि सक्षम, इमानदार र निडर नेतृत्वको प्रतीक्षामा रहेका बारा–४ का जनताले अब बल्ल एक सबल र भरोसायोग्य उम्मेदवार पाएको महसुस गरेका छन्।

सर्वेन्द्र खनाल नाराले होइन, परिणामले चिनिने व्यक्तित्व हुनुहुन्छ। प्रहरी सेवामा रहँदा उहाँले कानूनको शासन, सुशासन र नागरिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुभयो। विशेषगरी बारा जिल्लामा कार्यरत रहँदा सीमापार अपराध नियन्त्रण, शान्ति सुरक्षा सुदृढीकरण र सामाजिक सुधारमा उहाँको योगदान आज पनि जनताले प्रत्यक्ष रूपमा सम्झिरहेका छन्।

सीमावर्ती जिल्ला भएकाले बारा लामो समयदेखि सीमापार अपराध, तस्करी र अवैध गतिविधिको चपेटामा पर्दै आएको थियो। स्थानीय किसान नेता हरिनारायण यादव भन्नुहुन्छ, । “सर्वेन्द्र खनाल आउनु अघि सीमाबाट हुने तस्करी, अपराध र असुरक्षाले हामी आजित थियौं। उहाँले कडाइका साथ सीमापार अपराध नियन्त्रण गर्नुभयो। त्यसपछि गाउँमा शान्ति आयो, हामी ढुक्कसँग काम गर्न थाल्यौं।”

व्यवसायिक वातावरण सुधारमा पनि उहाँको भूमिका उल्लेखनीय रह्यो। कलैयाका एक उद्योगी भन्छन् । “पहिले धम्की, चन्दा र डरका कारण व्यापार गर्न गाह्रो थियो। खनाल सर आएपछि जबर्जस्ती चन्दा, धम्की र अपराधिक गतिविधि नियन्त्रण भयो। व्यवसायीलाई सुरक्षित वातावरण मिल्यो, लगानी गर्ने हौसला बढ्यो।”

विशेषगरी आपराधिक समूह र उग्र मधेसी नाममा चल्ने गिरोहबाट हुने जबर्जस्ती, धम्की र असुरक्षाको अन्त्यमा उहाँले कठोर कदम चाल्नुभएको थियो। एक स्थानीय शिक्षकको भनाइ छ । “उग्र समूहको डरले बोल्न नसक्ने अवस्था थियो। सर्वेन्द्र खनालले कुनै दबाब नमानि ती गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्नुभयो। त्यसपछि सर्वसाधारणले निडर भएर बाँच्न पाउने वातावरण बन्यो।”

सामाजिक सुधारका क्षेत्रमा पनि उहाँको योगदान उत्तिकै प्रभावकारी रह्यो। बालविवाह, दाइजो प्रथा र महिलामाथि हुने हिंसा विरुद्ध उहाँले प्रहरी कारबाहीमा मात्र सीमित नरही समुदायसँग मिलेर जनचेतना अभियान चलाउनुभयो। स्थानीय महिला अधिकारकर्मी सीता देवी भन्नुहुन्छ । “उहाँको पहलपछि बालविवाह रोकियो, दाइजो माग्नेहरू डराउन थाले। महिलामाथि हुने दुर्व्यवहारमा तुरुन्त कारबाही हुन्थ्यो। महिलाले पहिलो पटक राज्य हाम्रो साथमा छ भन्ने अनुभूति गर्यौं।”

सर्वेन्द्र खनालको काम केवल प्रहरी प्रशासनमै सीमित थिएन। उहाँले स्थानीय समुदाय, जनप्रतिनिधि र नागरिक समाजसँग सहकार्य गर्दै विकास निर्माणमा पनि सक्रिय भूमिका निर्वाह गर्नुभयो। एक स्थानीय समाजसेवीका अनुसार “उहाँकै पहलमा धेरै ठाउँमा सडक विस्तार भयो, सामुदायिक भवन बने, प्रहरी–समुदाय साझेदारी बलियो बन्यो। वातावरण संरक्षणका लागि वृक्षारोपण र सरसफाइ अभियानसमेत सञ्चालन गरियो।”

बारा जिल्लामा रहँदा उहाँले जनताको विश्वास जित्नु नै सबैभन्दा ठूलो उपलब्धि बनाउनु भयो। राजनीतिक पहुँच वा दबाबभन्दा माथि उठेर कानून अनुसार काम गर्ने उहाँको शैलीले प्रशासनप्रति जनआस्था बढेको थियो। आज त्यही विश्वास उहाँको राजनीतिक यात्राको बलियो आधार बनेको छ।
बारा–४ का जनताका लागि सर्वेन्द्र खनाल केवल उम्मेदवार होइनन्, आशा, सुरक्षा र परिवर्तनको प्रतीक हुन्। इमानदार नेतृत्व, स्पष्ट दृष्टिकोण र काम गरेर देखाउने प्रतिबद्धताका कारण उहाँको उम्मेदवारीलाई यहाँका नागरिकहरूले खुलेर समर्थन गरिरहेका छन्। अब बारा–४ ले भाषण होइन, परिणाम दिने प्रतिनिधि पाउने विश्वास जनतामा बलियो हुँदै गएको छ, र यही विश्वासले आगामी निर्वाचनलाई ऐतिहासिक बनाउने संकेत गरिरहेको छ।
