काठमाडौं । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना परिचालन गरिएको छ । ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी बललाई परिचालन गरिएको छ ।राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना र निर्वाचन प्रहरीहरु एक लाख ४९ हजार ९० जना खटाइएको छ ।
निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् ।आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्याइसकेको छ ।
यसपटकको निर्वाचनमा ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गरिसकेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले पनि निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेका छन् ।
