काठमाडौं । पार्टीको महाधिवेशनको कार्यतालिका विवादले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो। बैठक आइतबार दिउँसो १ बजे बस्नेछ।
पार्टीको महाधिवेशनका विषयमा संस्थापन पक्षधर र इतर पक्षबीच कुरो नमिल्दा कांग्रेसमा किचलो बढ्दै गएको छ। संस्थापन पक्ष फागु २१ को चुनावपछि पार्टी महाधिवेशन गर्ने पक्षमा छ भने इतर पक्षले मंसिरमा नियमित नभए चुनाव अघि विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएको छ।
नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आज बिहान कांग्रेस नेता डा. शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारीहरूसँग छलफल गरेका थिए।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ को चुनावअघि महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउन नखोजेको भन्दै डा. शेखर कोइरालाले शुक्रबार बिहान महामन्त्री थापा, शर्मा र सहमहामन्त्रीहरूसँग छलफल गरेका थिए।
