काठमाडौं । मुलुकको आन्तरिक सुरक्षाको नेतृत्व गर्ने जिम्मेवारी पाउने गृहमन्त्री पदका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चा हुँदै गर्दा, पूर्व प्रहरी महानिरीक्षक आइजिपि सर्वेन्द्र खनालको नाम पनि सम्भावित उम्मेदवारको रूपमा अगाडि आएको छ।
प्रहरी सेवामा आफ्नो कार्यकालभर कडाइ, नीतिगत स्पष्टता र भ्रष्टाचार तथा आपराधिक गिरोहविरुद्धका निर्णायक कदमहरू लिएर चर्चा कमाएका खनाल गृहमन्त्री बन्ने संभावनाले राजनीतिक वृत्तदेखि सर्वसाधारणसम्मको ध्यान तानेको छ।
खनालले प्रहरी महानिरीक्षकका रूपमा रहँदा संगठनभित्र सुधार, अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षामा उल्लेखनीय काम गरेका थिए। उनले विभिन्न चर्चित घटनाहरूमा सक्रिय हस्तक्षेप गर्दै शासकीय संयन्त्रमा पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई सुदृढ बनाएका थिए।
त्यस्तै खनालको सम्भावित गृहमन्त्री उम्मेदवारीको चर्चा मधेसमा विशेष रूपमा सकारात्मक रूपमा लिइएको छ। स्थानीय स्रोतहरूका अनुसार, खनालले प्रहरी सेवामा रहँदा मधेस क्षेत्रका सुरक्षासम्बन्धी मुद्दाहरूलाई प्राथमिकतामा राख्दै न्यायसम्मत व्यवहार देखाएको सम्झना जनाउँदै धेरै नागरिकहरू खुसी व्यक्त गरिरहेका छन्।
सामाजिक सञ्जालमा मधेसका धेरै युवाहरूले खनालप्रति समर्थन जनाउँदै अनुभवी र इमानदार नेतृत्व भन्दै प्रतिक्रिया दिइरहेका छन्। कतिपय स्थानमा सांकेतिक उत्सव र भब्य स्वागतको तयारी समेत भइरहेको खबर प्राप्त भएको छ।
हालसम्म खनालले गृहमन्त्रीको सम्भावित उम्मेदवारीबारे औपचारिक टिप्पणी भने गरेका छैनन्। तर निकट स्रोतहरूका अनुसार, राजनीतिक तहमा उनको नाममाथि गम्भीर छलफल सुरु भइसकेको छ। सरकारले चाँडै नै गृहमन्त्रालयमा नेतृत्व परिवर्तन गर्ने तयारी गरिरहेको चर्चा छ। सुरक्षा संयन्त्रमा लामो अनुभव, प्रशासनिक दक्षता, र नीतिगत प्रतिबद्धता भएका व्यक्तिको खोजी भइरहेको अवस्थामा खनालको नाम अगाडि आउनु स्वाभाविक भएको विश्लेषकहरू बताउँछन्।
