काठमाडौं । काठमाण्डौको डिल्लीबजार चारखालमा रहेको कारागार तनावग्रस्त भएको छ । कैदीहरूले ढुङ्गामुढा र आगजनी गरेर भाग्ने प्रयास गरेपछि कारागार तनावग्रस्त भएको हो । कारागारभित्रबाट कैदीहरू बाहिर निस्किएपछि नेपाली सेनाले हस्तक्षेप गरेर गेटमै रोकेको छ । अन्य कारागारबाट कैदीबन्दी छुटेका कारण आफूहरू पनि छुट्न पाउनुपर्ने माग उनीहरूको छ । कारागारलाई सेनाले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
जेनजी प्रदर्शनकारीहरूको आन्दोलन चर्किएको मौकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले सामाजिक सञ्जालबाटै पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा स्वागत गर्न आह्वान गरिरहेका थिए । उनीहरूले नख्खु कारागार पुगेर रवि लामिछाने निकाल्न दबाब दिए । सहकारी ठगी आरोपमा नख्खु कारागार पुगेका रास्वपा सभापति तथा पूर्वगृहन्त्री लामिछानेलाई उनीहरूले बाहिर निकाले । लामिछाने कारबाट हात हल्लाउँदै काराबारबाट बाहिरिए । उनको दाबी छ, ‘म प्रक्रिया पूरा गरेरै जेलबाट निस्किएको हुँ ।’
त्यस्तै सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला कारागारमा रहेका कैदीबन्दी भागेका छन् । कैलाली कारागारमा मात्रै कम्तीमा पनि ७ सय कैदी थिए । यो प्रदेशका ८ वटा कारागारबाट करिब १४०० कैदीबन्दी भागेको बताइएको छ ।
झुम्का कारागार, सोलु कारागार, रौतहट कारागार, मकवानपुरको भीमफेदी कारागारबाट पनि कैदीबन्दी भागेका छन् । म्याग्दी कारागारमा रहेका ८८ मध्ये ७२ जना कैदीबन्दी भागेका छन् भने बिरामी र हिंड्न नसक्ने १२ जना कारागारमै छन् ।
कञ्चनपुर कारागारमा रहेका ४७६ कैदीबन्दीमध्ये २२ जनाबाहेक सबैलाई प्रदर्शनकारीले निकालेर आफैूसँगै लगेको बताइएको छ । विभिन्न जघन्य अपराधमा कारागारमा पुगेकाहरू धमाधम बाहिर निस्कन थालेपछि उनीहरूबाट सुरक्षा चुनौती थप बढेको छ । अझ कारागारबाट निस्केका केही कैदीहरूको निशानामा अदालतहरू परेका छन् । कारागारबाट छुटेपछि उनीहरूले अदालतलाई लक्षित गर्दै आगजनी गरेको सुरक्षा अधिकारी बताउँछन् ।
ती अधिकृतले भनेजस्तै कपिलवस्तु कारागारबाट ४०० बढी कैदीबन्दी भागेका थिए । फरार भएका कैदी बन्दीले नजिकै रहेको कपिलवस्तु अदालतमा तोडफोड र आगजनी समेत गरेको सुरक्षा स्रोतले बताएको छ ।
