काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जेनजी आन्दोलनअघि प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगेको भन्ने दाबी आएकोले त्यो प्रमाणित गर्न चुनौती दिएको छ।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनअघि प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ निकालिएको दाबी गरिएको भिडिओ सामाजिक सञ्जालमा आएको छ।
‘हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन जी आन्दोलन पूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’ प्रचण्डको सचिवालयका तर्फबाट गोविन्द आचार्यले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
