काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनमा देखिएको उत्साह र चापलाई ध्यानमा राख्दै म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । उनले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोन गरेर मतदाता नामावलीमा नाम दर्ता गराउने समय सीमा केही समय थप गर्न आग्रह गरेकी हुन् ।
उनले शुक्रबार दिउँसो भण्डारीसँग फोनमा कुरा गर्दै मतदातामा नामावलीमा नाम लेखाउनेहरूको संख्या बढ्दै गएको र अनलाइनबाट भर्नेहरूको समेत लोड बढिरहेको भन्दै समय थप गर्न आग्रह गरेकी छन् ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पनि सकारात्मक प्रतिक्रिया दिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । आयोगले उमेर पुगेर पनि मतदाता नामावलीमा नाम नभएकाहरूलाई नाम लेखाउन ३० कात्तिकसम्मको समय सीमा निर्धारण गरेको छ ।
