काठमाडौं । अमेरिकाले भेनेजुएलामाथि हिंस्रक सैन्य आक्रमण गरेको भन्दै पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले निन्दा गरेका छन् ।खनालका अनुसार उक्त कार्य भेनेजुएलाको सार्वभौमसत्तामाथिको ठाडो उल्लंघन, अन्तर्राष्ट्रिय कानुनको अपमान र घोर अपराध हो । ‘यो अमेरिकी प्रभुत्ववादी दादागिरी मात्र होइन, राज्य आतंकवाद पनि हो,’ खनालले आज विज्ञप्ति जारी गरेर भनेका छन् ।
उनले अमेरिकाले भेनेजुएलामाथि लामो समयदेखि ‘गिद्धे दृष्टि’ राख्दै आएको र विश्वकै ठूलो तेल भण्डार कब्जा गर्ने उद्देश्यले यस्तो कदम चालिएको आरोप लगाएका छन् । मदुरो सरकारलाई हटाउन ‘ड्रग ट्राफिकिङ’को झुटो बहाना बनाइएको उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री खनालले भेनेजुएलाका जनता साम्राज्यवादी आक्रमणविरुद्ध उभिएको दाबी गर्दै विश्वका न्यायप्रेमी देश, तेस्रो विश्वका राष्ट्र र संयुक्त राष्ट्रसंघसमेत अमेरिकी कारबाहीको विरोधमा रहेको उल्लेख गरेका छन् ।
