काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले नेपाल र भारतबीचको सम्बन्धलाई परम्परागत भू–राजनीतिक खिचातानीबाट माथि उठाएर विकास कूटनीतु मा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरेका छन् । मंगलबार भारतीय अखबार हिन्दुस्तान टाइम्समा एक लेख प्रकाशित गर्दै लामिछानेले नेपालको बदलिँदो राजनीतिक परिदृश्य र भारतसँगको सहकार्यका नयाँ सम्भावनाहरूबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन् ।
लामिछानेले नेपालमा भएको हालैको राजनीतिक परिवर्तनलाई ब्यालेट बक्स क्रान्तिु को संज्ञा दिँदै नयाँ नेतृत्वले विगतको कुनै पनि ऐतिहासिक बोझ नबोकेको स्पष्ट पारेका छन् । उनले रास्वपाको उदयले नेपालमा सुशासन र जनताप्रतिको प्रत्यक्ष उत्तरदायित्वलाई मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै अब भारतसँगको सम्बन्धलाई पनि आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।लेखमा लामिछानेले केवल सिमाना जोडेर मात्र नपुग्ने भन्दै दुई देशको अर्थतन्त्रलाई नै एकीकृत रूपमा जोड्नुपर्ने प्रस्ताव गरेका छन् । उनले रक्सौल–काठमाडौँ रेलमार्गको निर्माण, काठमाडौँ–बेङ्गलुरु डिजिटल कोरिडोरको परिकल्पना र पोखरा तथा लुम्बिनीबाट भारतका विभिन्न सहरहरूमा सिधा हवाई उडान हुनुपर्ने उल्लेख गरेका छन् ।
साथै, नेपालको जलविद्युतलाई भारतको औद्योगिक विकासको इन्जिन बनाउन सकिने र सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापनाका लागि सहकार्य गर्न सकिने उनको धारणा छ ।
दुई देशबीच रहेका सीमा विवाद र अन्य थाती रहेका मुद्दाहरूबारे चर्चा गर्दै लामिछानेले अति(राष्ट्रवादी नाराले समाधान नदिने तर्क गरेका छन् । उनले यस्ता समस्याहरूलाई ऐतिहासिक तथ्य र प्रमाणका आधारमा व्यावहारिक संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन् ।एक स्थिर र समृद्ध नेपाल भारतको सुरक्षाका लागि पनि रणनीतिक आवश्यकता रहेको उनको भनाइ छ ।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा देखाएको आत्मीयता र बोर्डरलाई ब्रिज बनाउने उद्घोषलाई स्मरण गर्दै लामिछानेले अब पुरानो अविश्वास त्यागेर विश्वासको नयाँ जगमा उभिने बेला आएको बताएका छन् । उनले नेपालको युवा नेतृत्व भारतसँग पारदर्शी र परिणाममुखी साझेदारीका लागि तयार रहेको सन्देश समेत दिएका छन् ।हाल लामिछाने भाजपाको निमन्त्रणामा भारतकै भ्रमणमा छन् ।
