काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियामा चासो र चिन्ता प्रकट गरेको छ । मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गरी ‘लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने’ दृष्टिकोण अघि सारेको छ । आयोगले आफ्ना पदाधिकारीहरु राष्ट्रपति रामचन्द्र पौडेलको सम्पर्कमा रहेको उल्लेख गरेको छ ।
गत सोमबार र मंगलबार भएको घटनामा सुरक्षाकर्मीहरुको व्यापक बल प्रयोगका कारण हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीहरुले व्यापक आगजनी गरेर सिंहदरबार, सर्वोच्च अदालत संघीय संसद जलाएका थिए । यस्ता घटनाको सुक्ष्म अध्ययन गर्न भने चुकेको भन्दै मानव अधिकार आयोग आलोचना भइरहेको छ ।
‘मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ’ आयोगले विज्ञप्तिमा भनेको छ, ‘मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष आयोगले राखेको छ ।’
