काठमाडौँ । दुई दिने जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको काठमाडौँ उपत्यकाको जनजीवन बिस्तारै सामान्यतर्फ फर्कन थालेको छ । यद्यपि अझै पनि निषेधाज्ञा र कर्फ्यु आदेश भने जारी नै रहेको छ ।
नेपाली सेनाले काठमाडौँ उपत्यकामा शुक्रबार बिहान ११ बजेदेखि ५ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ । त्यसपछि साँझ ७ बजेपछि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश गरिएको छ । केही दिन सुनसान देखिएको काठमाडौँका सडक शुक्रबार बिहान निषेधाज्ञा खुलेका बेला भरिभराउ देखिएको छ ।
त्यस्तै कर्फ्यु र निषेधाज्ञा खुलेसँगै अत्यावश्यक कामका लागि घरबाहिर निस्किएका सर्वसाधारणको पेट्रोल पम्पमा लामो लाइन देखिएको छ। शुक्रबार बिहानैदेखि सवारी साधनले गर्दा पम्पहरूमा भिडभाड बढेको छ।
बालाजु, सामाखुसी, नयाँबजार, सोह्रखुट्टे, वनस्थली, लोकन्थली र जडीबुटीलगायतका क्षेत्रमा रहेका पेट्रोल पम्पहरूमा सवारी चालकहरू इन्धन भर्नका लागि लामबद्ध भएका थिए। उपत्यकाभरि केही पम्पहरू खुल्ला रहे पनि केही भने अझै बन्द अवस्थामा छन्। यसले गर्दा इन्धन भर्ने सवारी साधनको सङ्ख्या बढेको हो।
