जेन–जी आन्दोलनको अप्रिय घट्ना छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले जेन–जी आन्दोलनले निम्त्याएको नयाँ परिस्थितिसँगै अब पार्टी पनि सोही अनुसार चल्नुपर्नेमा जोड दिएको छ ।
सङ्घका अध्यक्ष माधव चम्लागाईंले प्रेस विज्ञप्ति जारी गर्दै जेनजीको दुई दिने आन्दोलनले मुलुकको राजनीतिक सोच बदलिएको भन्दै कांग्रेसले पनि आफूलाई परिमार्जित गर्नुपर्ने उल्लेख गरेका छन् । विज्ञप्तिमा कांग्रेसले अब नयाँ पुस्ताका आवाजलाई सुनुवाइ गर्दै पुस्तान्तरणमा ध्यान दिएर पार्टीको संरचना र कार्यशैलीमा तत्काल परिवर्तन गर्नु पर्नेमा जोड दिइएको हो ।
साथै विज्ञप्तिमा जेन–जी युवामाथि गोली हान्नेलाई कारबाही गर्न माग गर्दै तत्काल उच्च स्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको छ ।
शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले जेनजी आन्दोलनमा निधन भएका सम्पूर्ण युवाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै निर्दोष युवामाथि गोली प्रहार गर्ने जस्तो बर्बर र अमानवीय कार्यको कडा शब्दमा भत्र्सना गरेको छ ।
‘यस घटनामा संलग्न दोषीहरूलाई छानबिन गरी कडा भन्दा कडा कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग तत्काल गठन गर्न सरकारसँग माग गर्दछौँ’ विज्ञप्तिमा उल्लेख छ । ‘भ्रष्टाचार, नातावाद, कृपावाद र नागरिकको आवाज नसुन्ने प्रवृत्तिका कारण ३४ निर्दोष युवाले ज्यान गुमाउनु परेको घटना नेतृत्वको अक्षम र संवेदनहीनको चरम उदाहरण हो। यो कुनै पनि हालतमा माफीयोग्य छैनु, विज्ञप्तिमा भनिएको छ ।
